केही समयअघि एक संस्थाले एयर एम्बुलेन्सको अवधारणामा लाखौं रुपैयाँ संकलन गरेको थियो । ठाउँ–ठाउँमा एयर एम्बुलेन्सप्रतिको चेतनामूलक कार्यक्रम, अन्तत्र्रिmया गरेको थियो । सुनसरीको इटहरीमा भएको एक कार्यक्रममा मैले पनि खुसी हुँदै यो कार्यक्रम (एयर एम्बुलेन्स) ले सिटामोल खान नपाएर मर्नेदेखि सिंगापुर गएर औषधी गर्नेसम्मलाई छुनुपर्छ, औषधोपचार नपाइ कसैले मर्नु नपरोस् भनी शुभकामना व्यक्त गरेकी थिए । तत्कालै उपचार चाहिएको व्यक्ति या विशेष अवस्थाका व्यक्तिलाई एयर एम्बुलेन्समा राखी औषधोपचारका लागि सुविधासम्पन्न अस्पतालमा पुर्याइन्छ भन्ने लागेको थियो । तर, हवाइ यातायातको मूल्यवृद्धिविरुद्ध भएको आन्दोलनको कारण औषधोपचार नपाइ बाजुराकी ४० वर्षीया नन्दू डडालले मृत्यु वरण गर्नुपर्यो । गर्भभित्रै शिशु मरेको र मृत शिशुलाई तत्कालै ननिकाले आमाकै ज्यान जाने सम्भावना रहेको जानकारी गराउँदागराउँदै पनि नन्दूले ज्यान गुमाइन् । नन्दूलाई एक साताअघि सुत्केरी व्यथाले छोएपछि १ दिनको पैदल बाटो बोकेर प्राथमिक स्वास्थ केन्द्रमा पुर्याए पनि सुविधा पाइनन् । सुविधासम्पन्न अस्पतालमा लैजान सके त्यहाँ शल्यक्रियामार्फत् मृत बच्चा झिकेर आमाको ज्यान जोगिनसक्ने चिकित्सकले बताएका थिए । नन्दूलाई नेपालगञ्ज रिफर गरिएको थियो । नेपालगञ्ज तत्काल पुग्न हवाइजहाजको आवश्यकता थियो । नेपालगञ्ज पुर्याइएको भए शल्यक्रियामार्फत् मृत बच्चा निकालेर आफ्ना पति र २ बच्चासँगै नन्दूले पनि बाँच्न पाउने थिइन् । सामान्य शल्यक्रिया गरेर मृत शिशु निकालेर बाँच्नसक्ने नन्दूले सुविधासम्पन्न अस्पताल पुग्न नसकेको कारण अकालमा मृत्यु भोगिन् । बाजुराको विमानस्थलमा ५ दिनदेखि प्रसव पीडामा छट्पटाउँदै हवाइजहाज पर्खंदै गर्दा हवाइजहाजभन्दा कालै छिटो आएर लग्यो । यो खबरले मन स्तब्ध भएको छ । एयर एम्बुलेन्सको अवधारणा ल्याउने साथीहरुलाई अहिले म सम्झिरहेको छु । उनीहरुलाई मेरो प्रश्न– खोइ त एयर एम्बुलेन्स ??
यदि त्यो एयर एम्बुलेन्स भइदिएको भए बाजुराका स्थानीयवासीका नाममा गरेका हवाइभाडाविरुद्धको आन्दोलनले आकाशका बाटाहरु छेकिँदैन थिए होलान् । एम्बुलेन्स भनेपछि त आकाश–धर्ती सबैबाट बाटाहरु खुल्ने थिए होलान् । कोल्टी विमानस्थलबाट नन्दूलाई नेपालगञ्ज ल्याइ बचाउन सकिन्थ्यो होला । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पुगेको बेला पनि सुन्नमा र पढ्नमा आएको नन्दूको यो दुर्घटना त प्रतिनिधि घटना हो । सञ्चारमाध्यमको कारण सबै ठाउँमा समाचार बनेको छ । गाउँ, दूरदराजमा सुत्केरी व्यथा लागेर बच्चा जन्माउन नसकी मृत्यु भएका सबै खबरहरु खबरभित्रका खबर बन्न सकेका छैनन् । गर्भमा रहेको शिशुको अवस्थाको जानकारी पटक–पटक लिइरहनु पर्ने २१ औँ शताब्दीमा पनि बच्चा जन्माउन नसकेर या बच्चा शल्यक्रियामार्फत् निकाल्न नसकेर गर्भवती महिलाको मृत्यु हुनु कति हदसम्मको दुखद् र पीडादायी घटना हुुन्छ । यस्ता पीडादायी घटनाले महिला अधिकारकर्मीलाई मात्र होइन, राज्यलाई नै छुनुपर्छ, दुख्नपर्छ ।
No comments:
Post a Comment