About Me

My photo
jinagi kada ghari bich ko ful ho ... jo kada bich fuln saknu paarchha...

Thursday, November 24, 2011

कसरी मनाउने होली! By Meena Shrestha · Sunday, March 20, 2011



     वर्षौंदेखि मनाइँदै आएको रङहरुको पर्व फागु पूर्णिमा (होली) मनाइने कारणबारे हिन्दू धर्ममा विभिन्न किंवदन्ती पाइन्छन् । सत्यको विजयको प्रतीक मानेर रमाइलो गरिने यो पर्व यस वर्ष पनि जोश, उत्साह, उमङ्गले मनाइँदैछ । होलीको आगमनसँगै बजारमा विभिन्नथरिका पिचकारी, कलर स्प्रे, होली क्रिम, भाङ, गाँजा र धतुरोको बिक्री भइरहेका छन् । राता, हरिया, नीला, पहेंला विभिन्न रङको फागु पर्वभित्र हिन्दू धर्ममा केकस्तो धार्मिक र साँस्कृतिक पक्ष रहेको छ भनेर बुझ्नुभन्दा अपरिचित र असम्बद्ध व्यक्तिहरुलाई लोला हान्ने, पानी खन्याउने, अर्काको पीडामा खुसी देख्ने प्रवृत्ति झाङ्गिँदा पर्वको रौनक कम भएको छ । फागु पर्वको अवसरमा साथीभाइ, प्रियजन भेला भइ उत्साह, उमङ्ग र प्रेमपूर्वक सौहाद्रपूर्ण वातावरणमा रङ अविर खेलिसकेपछि मिठाइका परिकारहरु खाएर रमाइलो गर्ने चलन हिजोआज विकृति र भड्किलो बन्दै गइरहेको छ । पखाल्दा पखालिने रङ र अविरको होली अहिले इनामेल रङ, क्रिम तथा पेष्ट, फेस पेन्टस, इनामेल रङ, अनुहार र कपालमा दलेर हेर्दै तर्साउने जस्तो भएर भाङ तथा मादकपदार्थ सेवन गरी मोटरसाइकलमा ले–गार्डमाथि खुट्टा राखेर होहल्ला मच्चाउँदै हुइँकिएको देख्न पाइन्छ । फागु पर्वले एक–आपसमा सद्भाव पैmलाउँदै उत्साह, उमङ्ग जोश–जाँगर ल्याउनुपर्छ । तर आजभोलि नचिनिएका बटुवा, विशेषगरी महिलालाई हिलो छ्याप्ने, छतबाट फोहोर पानी खन्याउने लोला हान्ने परम्परा उच्छृङ्खलरुपमा बढ्दै गएको छ । पर्व आउनु हप्तौंदिन अगाडि ‘लौन होली होली आयो’ भनेर तर्सनु पर्ने विरक्तलाग्दो परम्परा बनेको छ । हिंडिरहेको बाटोमा कुन घरको छतबाट कतिखेर फोहोर पानी खस्ने हो ? कुन गल्लीबाट कुन बेला लोलाको झटारो आउने हो भन्ने पत्तो हुन्न । विशेषगरी युवा महिला बाटामा देखिए त लोलाको झटारोको तारो नै बन्छन् । साडी लगाएर हिँडिरहेका महिलाभन्दा पेन्ट सर्ट, कुर्ता–सुरुवाल लगाएर हिँडिरहेको महिलाप्रति केन्द्रित भएर जिस्काउन र लोला हान्न एकहप्ता अघिदेखि नै योजना बन्छ । बिडम्बना कस्तो छ भने पानीको अभाव भएर कपडा धुन, भाँडा माझ्न सास्ती भइरहेको ठाउँमा लोला हान्न र पानी खन्याउन भने जोहो गरिरहेको पाइन्छ । रङको गुणस्तर नहेरीकन सस्तो अबीर र रङ किन्न पसलहरुमा भीडभाड देखिन्छ । रमाइलो गर्ने चाहनामा आँखा, कान, नाक, मुखका छाला बिग्रिनेमा ध्यान दिएको देखिन्न ।

               तर यो वर्ष बेलुनमा या प्लाष्टिकको थैलोमा पानी भरेर लोला हान्ने प्रवृत्ति रोक्न प्रहरीले निजी तथा सामुदायिक विद्यालयमा प्रार्थना गर्ने समयमा जनचेतना अभियान थालेको थियो । प्रहरीका अनुसार बुधबारसम्म ७१ वटा विद्यालयमा यस्तो जनचेतनामूलक अभियान सम्पन्न गरेको थियो । अभियानमा नचिनेका र बाटामा हिँडिरहेका बटुवाहरुलाई लोला नहान्न सचेत गराइएको थियो । साथै प्रहरीले तातोपानी नाकाबाट राजधानी भि¥याउँदै गरेका १४ बोरा बेलुन नियन्त्रणमा लिएको थियो । लोला रोक्ने प्रहरीको जनचेतनामूलक अभियानले यो पटकको होलीमा गलत प्रवृत्तिको अन्त्य भइ सद्भाव होलीको सुरुवात हुन्छ कि भनेर अपेक्षा भए पनि स्कुल बसभित्रैबाटै लोला हानेको पनि देखियो । सायद चेतनामूलक अभियानले नछोएको हुनसक्छ । फागु पर्व अर्थात् होलीले विकृतिको पर्व होइन रङको रमाइलो पर्वको रुपमा स्थापित गर्नुपर्छ । चिन्दैनचिनेकालाई रङ पानी खन्याएर अरुलाई दुःख दिँदा आनन्द लिने मानसिकता बदल्नुपर्छ । शरीरको छालाको सुरक्षाको लागि रङ खेल्नुअघि र खेलिसके पश्चात् विभिन्न किसिमका तेल र क्रिमको आवश्यकतालाई ध्यान दिँदै आफ्ना प्रियजनसँग मात्र खेलेर अर्को सालसम्म सम्झनको लागि मिठो सम्झना रहनयोग्य प्रिय होली बन्नुपर्छ । अर्थात् होली आउँदा खुसीका साथ ह्याप्पी होली भनेर खुसी साट्न सकियोस् । खुसीका रङहरु जीवनमा छाउन सकोस्, नराम्रा रङका दागहरु पखाल्न सकियोस् ।

No comments:

Post a Comment