About Me

My photo
jinagi kada ghari bich ko ful ho ... jo kada bich fuln saknu paarchha...

Thursday, November 24, 2011

Pheri Koshi ko Tras..Published By Kantipur @ 2068.3.22 By Meena Shrestha · Wednesday, July 6, 2011 दृष्टिकोण» चौतारी:फेरि कोसीको त्रास मिना श्रेष्ठ


दृष्टिकोण»
चौतारी:फेरि कोसीको त्रास

 मिना श्रेष्ठ

अषाढ २१ -
फेरि कतिखेर कोसी फुट्छ होला, बाढीले बगाउँछ होला भन्ने त्रासमा बाँच्दै छन् कोसी आसपासका जनता । कोसी नदीको विशालता नै पूर्वाञ्चलका जनताको पीडा बनेको छ । तीन वर्षअघि सुनसरीका चार गाविस लौकही, पश्चिमकुशाहा, श्रीपुर र हरिपुर जलमग्न भएका थिए । बबिया, नरसिंह, भोटाहा, जलपापुर, घुस्की, हरिनगरा र वसन्तपुर गाविस प्रभावित भएका थिए । कोसीको पूर्वी तटबन्ध भत्किएपछि नदी पूर्व र पश्चिम दुई टुक्रामा विभाजित भएको थियो । बल्लबल्ल ज्यान जोगाएका विस्थापितहरू आफ्नै आँखाअगाडि सम्पत्तिको विनाश देखेका स्थानीयवासी अहिले पनि तर्सन्छन् । विस्थापित भएका ५५ हजारभन्दा बढी जनता दुई मुठी चिउरा खाएर जिउन बाध्य थिए । कोसीको छेउ र विस्थापितहरूको अस्थायी शिविरमा आफन्त हराएर खोज्नेहरू रुँदै बिलौना गर्दै गरेको दुःखद दृश्य देखिन्थ्यो । ५० हजार विस्थापितमध्ये २७ हजारलाई २९ वटा अस्थायी शिविरमा राखेर राहत प्रदान गरिएको थियो । डुबानमा परेका जमिन हाल बलौटे मरुभूमिमा परिणत भएका छन् ।

फेरि अहिले कोसी ब्यारेजमा पानीको बहाव निरन्तर बढ्दै गएपछि ब्यारेजमा साइरन बजाउनका साथै रातो बत्ती बालेर खतराको संकेत गरिएको छ । कतिखेर तटबन्ध भत्कन्छ, थाहा छैन । कोसी नदीको पानीको बहाव शुक्रबार वर्षकै उच्च मापन गरिएको थियो । शुक्रबार बिहानसम्म कोसी ब्यारेजमा १ लाख ५१ हजार ६९५ क्युसेक बहाव रहेको थियो । सुनसरीका विभिन्न खोलामा बाढी आएका कारण दर्जनौं गाउँ जलमग्न छन् । कोसीको पूर्वी तटबन्धअन्तर्गत प्रकाशपुर खण्डको तटबन्धलाई जुनसुकै बेला पनि भत्कन सक्ने भनेर संवेदनशील क्षेत्र भनेर घोषणा गरिएको छ सो लगत्तै बिहीबार नै गृहसचिवको टोलीले कोसी कटान भइरहेको स्थानको स्थलगत अवलोकन गरेका छन् । टोलीले समेत कोसीको बाढीअनुसारको मर्मत नभएको स्विकारेका छन् । कोसीको पूर्वी तटबन्ध ९, १०, ११ र चतराको २ नम्बर वडा पुल्टेगौंडामा कटान भइरहेको छ । यसलाई नरोके फेरि २०६५ भदौ २ गते दोहोरिनेछ र नदीले बाटो बदल्नेछ । योपटक पनि नदीले बाटो बदलेर गाउँ पसे नदी कहाँसम्म पुग्छ ? अनुमान गर्न सकिन्न । विगतमा पूर्वाञ्चलभरिमा १३ हजार विस्थापित भएका थिए । सुनसरी र मोरङमा एकएक जनाको मृत्यु भएको थियो । सुनसरीका विस्थापितलाई इनरुवास्थित सुनसरी क्याम्पस, ज्ञानोदय निमावि, सरस्वती मावि बबियाका शिविरहरूमा राखिएको थियो । शिविरहरूमा १५ जनाभन्दा बढी सुत्केरी महिलालाई थप समस्या भएको थियो । सुनसरीमा अहिले पनि कटान भइरहेकाले गाउँ आतंकित बनेको छ । रोक्नका लागि प्रभावकारी काम भएको छैन । विगतमा समयमै कोसी ब्यारेजका ढोका नखोलिदिँदा नदीले बाटो परिवर्तन गरेको थियो । कोसी ब्यारेजमा काम गर्ने भारतीय कर्मचारीहरू बाढी आएको संकेत पाएपछि ढोका खोल्नको साटो भागेका थिए । ढोका खोलिदिएको भए यत्रो क्षति हुने थिएन । कोसी ब्यारेजका ५६ मध्ये २० वटा ढोका शुक्रबार खोलिएका छन् । पानीको मात्रा बढेपछि सबै ढोका खोलिनुपर्छ । जोखिमयुक्त स्परहरू मर्मत गर्नतर्फ सोचिएको छैन । कोसी बाँध फुट्ने जानकारी पाउँदा पनि समयमै मर्मतका लागि ध्यान नदिनु भारतको गैरजिम्मेवारपन हो । कोसी नदी सन्धिअनुसार कोसी तटबन्धको मर्मतसम्भार भारतले गर्नुपर्ने हो तर भारतले हेर्ला र गर्ला भनेर कुर्ने मात्र होइन नेपाल सरकारले मर्मतसम्भारका लागि भारतलाई दबाब दिनुपर्छ । राज्यको ध्यान सत्ता समीकरणमा मात्र होइन, जनधनको क्षति हुने सम्भावित स्थानहरूमा केन्दि्रत हुनुपर्छ ।

प्रकाशित मिति: २०६८ अषाढ २२ ०८:५३


No comments:

Post a Comment